|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं.-४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई अनुभवी र संघर्षशील नेताका रूपमा चिनिन्छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिगामा निवासी ६३ वर्षीय यादव कांग्रेसका निवर्तमान सहमहामन्त्री हुन् । उनी २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भई सरसफाइ तथा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय यादव नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । निरन्तर उतार–चढावका बाबजुद उनले राजनीतिमा आफ्नो उपस्थिति र प्रभाव कायम राख्दै आएका छन् ।
२०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले नेता रघुवीर महासेठसँग पराजित भएका थिए । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका यादव र एक्ला एमाले उम्मेदवार महासेठबीच कडा प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा महासेठले ३२ हजार २३६ मत प्राप्त गरी विजयी हुँदा यादव ३२ हजार ११२ मतसहित १२४ मतको झिनो अन्तरले पराजित हुन पुगे ।