|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि झापा-५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)लाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । ३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । र्याप पृष्ठभूमिका उनी नयाँ पुस्ताबिच लोकप्रिय मानिन्छन् ।
काठमाडौँको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर शाह झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।
नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
स्थानीयत चुनावताका विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु शाहको पक्षमा देखिएका थिए । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी शाहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए ।